कान्जी घरमा पशु पालन

सिलगढी,
नगर क्षेत्रमा रहेका छाडा गाईबस्तुलाई नियन्त्रण लिएर राख्न निर्माण गरिएको कान्जी घरमा दिपायल सिलगढी नगरपालिकाले पशु पालनका लागि प्रयोग गर्न  थालेको छ ।
गत एक बर्ष देखि कान्जीघरमा छाडा गाईबस्तु फेला नपरेपछि नगरपालिका हाता भित्र निर्माण गरिएको कान्जीघरलाई पशुपालनको लागि प्रयोग गरिएको नगरपालिका श्रोतले जनाएको छ । दिपायल सिलगढी नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यकारी अधिकृत रामप्रसाद शर्मा र सामाजिक बिकास अधिकृत रमेशचन्द्र जोशीको मिलेमतोमा कान्जी घर ब्यक्तिलाई प्रयोग गर्न दिईएको हो । हाल उक्त कान्जीघरमा नगरपालिकाकै सवारी चालक कृष्ण नेपालीले २ बाख्रा र १ गाई पालेका छन ।
कान्जीघरमा गाईबस्तु पालेको बिषयमा जानकारीका लागि कार्यकारी अधिकृत रामप्रसाद शर्मासंग सम्पर्क राख्दा सवारी चालकले गाई बाख्रा पाल्नका लागि अनुरोध गरेपछि  नगरपालिकाले कान्जी घर उपलब्ध गराएको स्विकार गर्नु भयो । कान्जीघर ब्यस्थापन नगरपालिकाको सामाजिक बिकास फांटले  गर्दै आएको छ । यस सम्बन्धमा दिपायल सिलगढी नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेशचन्द्र जोशी बिदामा भएका कारण सम्पर्क हुन सकेन ।
दिपायल सिलगढी नगरपालिकाको उक्त कदमको नगरबासीले बिरोध गरेका छन । नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको २५ औं जिल्ला अधिबेशनको लागि नगरपालिका सभाकक्ष पुगेका नगरबासीहरुले नगरपालिकाको उक्त कार्य गैरजिम्मेवार भएको भन्दै बिरोध गरेका थिए ।
दिपायल सिलगढी नगरपालिका क्षेत्रमा छाडा गाईबस्तु नभएपनि स्थानीय निकाय बित्तिय आयोगद्धारा हरेक बर्ष गरिने न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा अंक पाउनका लागि भएपनि कान्जी घर निर्माण गरिएको नगरपालिका श्रोतले जनाएको छ । यस अघि नगरपालिका हाता भित्रका चोर बाटो( सानो बाटो ) बन्द गर्न नगरपालिकाका बिभिन्न क्षेत्रबाट फोहर जम्मा गरि थुपारेपछि नगर पालिका बिवादमा  आएको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: