सहकारी संस्था दर्ता धेरै अस्तित्वमा कम

सिलगढी, / डोटी लगायत आसपासका जिल्लाहरुमा अभियानकै रुपमा सहकारी संस्था दर्ता भईरहेपनि अस्तित्वमा निकै कम रहेको पाईएको छ । यस्ता सहकारी संस्थाको स्थलगत अनुगमन गरि खारेजी गर्ने काम अगाडी बढाएको डिभिजन सहकारी कार्यालय डोटीले जनाएको छ ।
५७ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा आज जिल्ला बिकास समितिको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रममा सहकारीकर्मी तथा सरोकारवालाहरुले सहकारी संस्थाहरुको दर्ता संगै संस्थागत दिगो बिकासको लागि ठोस योजना ल्याईनु पर्ने कुरामा जोड दिएका छन ।
उक्त कार्यक्रममा दिईएको जानकारी अनुसार डिभिजन सहकारी कार्यालय डोटीको क्षेत्राधिकार रहेको डोटी जिल्लामा १ सय ८६, अछाममा २ सय ८, बझांगमा १ सय १७ र बाजुरा जिल्लामा १ सय १९ बिभिन्न बिषयगत सहकारी संस्थाहरु दर्ता भएका छन । स्थलगत निरिक्षण तथा अनुगमनका क्रममा सहकारीको नियम अनुसार संचालन नभएका, डिभिजन सहकारी कार्यालयमा नियमित प्रतिबेदन नबुझाएका, निष्कृय रहेका १७ सहकारी संस्थाहरुको दर्ता खारेजी गरिएको निमित्त डिभिजन सहकारी अधिकृत जगतप्रसाद जोशीले जानकारी दिनु भयो ।
सहकारी मार्फत दिगो आर्थिक बिकास र सामाजिक न्याय भन्ने नाराका साथ मनाइएको ५७ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सहकारी संस्थाहरुको एकिकरणमा जोड दिनु पर्ने, सहकारी संस्थाहरुको संस्थागत बिकासका लागि क्षमता अभिबृद्धि गर्नु पर्ने, नियमित अनुगमन गर्नु पर्ने, हरेक जिल्लामा डिभिजन सहकारी कार्यालय स्थापना गरिनु पर्ने, उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरुस्कृत गरिनु पर्ने लगायतका बिषयमा जोड दिएका थिए ।
डोटी जिल्लामा सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि गर्नका लागि मर्सिकोर नेपाल र समृद्ध पहाडले स्थानीय साझेदार संस्थाहरु मार्फत बिभिन्न तालिम, अध्ययन भ्रमण, सामग्री सहयोग र बित्तिय साक्षरता कक्षा जस्ता कार्यक्रमहरु संचालन गरेको भएपनि पुरै जिल्लालाई समेट्न सकेको छैन ।  
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सहकारी हरेक नागरिकको हरपलको साथी भएकाले सहकारी संस्थाहरुको संस्थागत बिकास गरि सर्बसाधारण जनताको सहकारीमा पहुंच पु¥याउनु पर्ने कुरामा जोड दिनु भयो ।
जिल्ला सहकारी संघका सचिब मनोहर बोहराको सभापतित्व तथा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक जयराज भट्टको संचालनमा सम्पन्न सो समारोहमा उत्कृष्ट कार्य गर्ने डिभिजन सहकारी कार्यालय डोटीका सहायक सहकारी निरिक्षक सुशिला अर्याल, स्थापनाको छोटो समयमा उत्कृष्ट कार्य गर्ने सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था बाह्रबिस बाजुरा, पारदर्शिता र जवाफदेहितामा बचत तथा ऋण सहकारी संस्था मष्टामाण्डौं अछामलाई पुरुस्कृत गरिएको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: