फ्रान्स र इक्वेडर विजयी, स्विट्जरल्यान्ड र होन्डुरास पराजित

img1

काठमाडौं, ६ असार । ब्राजिलमा जारी २०औं फिफा विश्वकपको नवौं दिन शुक्रबार पनि तीन म्याच भए जसमा सनसनीखेज तरिकाले कोस्टारिका, फ्रान्स र इक्वेडर आआफ्ना म्याचमा विजयी भए भने चारपटकको विश्वकप विजेता इटाली, स्विट्जरल्यान्ड र होन्डुरास पराजित भए । पराजयसँगै इटाली पनि इङ्ल्यान्डसँगै ग्रुप डीमा समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

शुक्रबा राति भएको पहिलो म्याचमा यसअघि आफ्नो समूह डीको पहिलो म्याचमा इङ्ल्यान्डलाई शानदार ढंगले पराजित गरेको इटाली विस्मयकारी तरिकाले कमजोर फुटबल खेल प्रदर्शन गर्दै कोस्टारिकाविरुद्ध १–० ले पराजित भयो । मारियो बालोतेली, एन्टोनियो कासानो, एलेसियो गर्ची, एन्ड्रिया पिर्लो इटालीको पराजयमा टोलीका प्रशिक्षक सिजर प्रान्डेलीको रणनीति अत्यन्त रहस्यमय मानियो भने कोस्टारिकाका गोलकिपर २७ वर्षीय केलर नाभासको उत्कृष्ट बचाउयुक्त प्रदर्शन पनि उत्तिकै उल्लेखनीय रह्यो ।

जितसँगै कोस्टारिका समान अंक भए पनि उरुग्वेसँगै अंकतालिकामा दोस्रो स्थानमा छ । सन् १९९० मा पहिलोपटक राउन्ड अफ सिक्सटिनमा पुगेको कोस्टारिका त्यस यता पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको छ । हाल फिफा टिम र्याङकिङमा कोस्टारिका विश्वमा २८  ओं स्थानमा छ जुन इटालीभन्दा १९ र उरुग्वेभन्दा २१ स्थान तल हो ।

मारियो बालोतेलीको अवस्था कस्तो थियो भने उनले समग्र ९० मिनेटको खेलमा केवल २४ पटक मात्र बल छुन सके । म्याचमा समग्रमा उनले १२वटा पास सिर्जना गरे तर तीमध्ये कुनै एउटा पनि उनले इङ्ल्यान्डविरुद्ध देखाएको शानदार प्रदर्शननजिक पनि थिएन ।

समूहको पहिलो म्याचमा उरुग्वेलाई ३–१ ले पराजित गरेको ६१ वर्षीय जर्ज लुई पिन्टोको कोस्टारिकन टोलीका लागि इटालीविरुद्ध २८ वर्षीय स्ट्राइकर ब्रायन रुइजले दोस्रो हाफमा हेडर गोल गरेका थिए ।

अन्य म्याचमा ग्रुप ईमा फ्रान्सले स्विट्जरल्यान्डलाई ५–२ ले र तेस्रो तथा दिनको अन्तिम म्याचमा  समूह ईमै इक्वेडरले होन्डुरासलाई २–१ गोल अन्तरले पराजित गरे ।

फ्रान्सका लागि पाँचजनाले एक एक गोल गरे जसमध्ये जिराउडले १७औं मिनेटमा, मातुडीले १८औं, भालबुएनाले ४०औं, बेन्जिमाले ६७औ र सिसोकोले ७३औं मिनेटमा गोल गरेका थिए । स्विट्जरल्यान्डका लागि डिजेमयलीले ८१औं र जाकाले ८७औं मिनेटमा गोल गरेका थिए ।

होन्डरासका लागि कोस्टलीले ३१औं मिनेटमा गोल गरे भने इक्वेडरका लागि दुवै गोल एनार भ्यालेन्सियाले क्रमशः ३४औं र ६५औं मिनेटमा गरेका थिए । (एजेन्सीको सहयोगमा)

 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: