कञ्चनपुर प्रशासनमा सिसिटिभी क्यामेरा

महेन्द्रनगर, २६ असार । प्रशासन कार्यालयमा शान्ति सुरक्षा र कर्मचारी गतिविधि निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रशासनको प्रवेशद्वारदेखि प्रमुख जिल्ला अधिकारी कार्यकक्ष ढोकासम्म गरी आठ वटा क्यामेरा जडान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले प्रशासन कार्यालयको सुरक्षा र कर्मचारी लापरवाही नियन्त्रणका लागि क्मामेरा जडान गरिएको बताए । सुरक्षा निकायसँग छलफल गरी प्रशासनमा क्यामेरा जडान थालिएको हो ।

प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी कार्यकक्ष प्रवेश ढोकामा एक, प्रशासन प्रवेशद्वारमा तीन र अन्य पाँच क्यामेरा कार्यालयका विभिन्न स्थानमा जडान गरिने छन् ।  सबै क्यामेराको नियन्त्रण कक्ष प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखिएको छ ।

प्रमुख जिल्ला घिमिरेले क्यामेरामा कैद हुने गतिविधिको दैनिक समीक्षा गरिने बताए । समीक्षाका आधारमा कर्मचारीहरूको मासिक बैठकमा त्यसबारे छलफल गरी सेवाग्राहीलाई हुने अप्ठेरो हटाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

‘क्यामेराका गतिविधिका आधारमा सेवाग्राहीले सहज रूपमा सेवा पाए नपाएको सबै हेर्छौं,’ उनले भने, ‘त्यसका आधारमा सेवालाई सहज बनाउँछौ, कर्मचारीलाई त्यसै अनुसार तयार गर्छौ ।’

गृह मन्त्रालयको निर्देशन अनुसार प्रशासन कार्यालयमा गतिविधि निगरानीका लागि क्यामेरा जडान गरिएको हो । यसअघि जनपद प्रहरीले गड्डाचौकी भन्सार कार्यालयका गतिविधि निगरानीका लागि गत साता क्यामेरा जडान गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले अशान्ति मच्चाउने क्रियाकलाप नियन्त्रणमा सिसिटीभि क्यामेराबाट सहयोग हुने बताए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: