महाधिवेशन लम्बिँदा एक करोड आर्थिक भार

काठमाडौं, २६ असार । राजधानीमा जारी एमालेको नवौं राष्ट्रिय महाधिवेशन लम्बिँदा पार्टीलाई करिब एक करोड आर्थिक भार थपिने भएको छ ।

पूर्वकार्यतालिकाअनुसार बुधबार सकिनुपर्ने महाधिवेशन कम्तीमा तीन दिन लम्बिँदा एमालेलाई एक करोड आर्थिक भार थपिने भएको हो । यसरी एक करोड आर्थिक भार थपिँदा महाधिवेशनको खर्च साढे ६ करोड रुपियाँ पुगेको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले महाधिवेशन लम्बिँदा स्वाभाविक रूपमा आर्थिक  भार बढेको बताएका छन् । रिमालका अनुसार महाधिवेशन कम्तीमा तीन दिन लम्बिँदा करिब एक करोड थप खर्च हुनेछ । खाना, बस्न, टेन्ट, स्थल तथा महाधिवेशन व्यवस्थापन खर्च बढेको छ । ‘महाधिवेशन लम्बिँदा प्रतिनिधिलाई बसाउनु–खुवाउनुपर्दा खर्च बढेको छ’, उनले भने, ‘महाधिवेशन अझ लम्बिए झन् बढी खर्च हुन्छ ।

उनले महाधिवेशनको मतदान हुँदाका दिनसम्म प्रतिनिधिको व्यवस्थापन गर्ने हुनाले खर्च बढेको बताए । महाधिवेशनमा २ हजार १ सय ७७ प्रतिनिधि सहभागी छन् ।

एमालेले महाधिवेशन यही असार १९ देखि २५ गतेसम्मका लागि मात्र प्रतिनिधिको खाने–बस्ने व्यवस्था गरेको थियो । त्यसका लागि झन्डै साढे पाँच करोड रुपियाँ खर्च हुने अनुमान गरिएको थियो  ।

रिमालका अनुसार तीन दिन बढ्दा खानामा ६० लाख ५० हजार, होटेल खर्च २० लाख २५ हजार, कार्यक्रमस्थल भाडा ६ लाख र टेन्ट खर्च ३ लाख तथा व्यवस्थापनमा करिब ५ लाख खर्च बढ्नेछ । महाधिवेशनमा खटिएका स्वयमसेवक,  सुरक्षाकर्मी तथा प्रतिनिधि गरी ३ हजार जनालाई प्रतिदिन ६ सय ७५ रुपियाँका दरले, होटेल कोठा १ हजार ५ सय प्रतिनिधिलाई प्रतिदिन ४ सय ५० का दरले, भृकुटीमण्डप स्थल खर्च प्रतिदिन २ लाख र टेन्ट खर्च प्रतिदिन १ लाख खर्च हँुदै आएको छ । प्रतिनिधिलाई सुन्धारा, सोह्रखुट्टे, बागबजारका होटेलहरूमा राखिएका छन् भने करिब ६ सय प्रतिनिधिलाई होमस्टेमा राखिएको छ ।

महाधिवेशनका लागि पार्टीले प्रतिनिधिबाट १ हजार ५ सय, प्रतिसभासद् ५ हजार र चन्दा सहयोग उठाएको थियो । यसैगरी जिल्ला कमिटी, अञ्चल कमिटीबाट पनि आयोजकले चन्दा सहयोग उठाएको थियो ।
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: