नेकपा एमालेको महाधिवेशन ः नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदै

काठमाण्डौं, असार २७ । नेकपा एमालेको आगामी नेतृत्व महाधिवेशनमा आज मतदान हुँदैछ । मतदान बिहान ८ बजे शुरु हुने भनिए पनि केही ढिला भएर बिहान ११ बजे मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । निवार्चन कार्यतालिका हेरफेर नगरिएको तर केही तयारी र व्यवस्थापनका कारणले ढिला हुने भएको हो । नयाँ विधानअनुसार १४ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिंदैछन् । एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेदवारी परेको छ । त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेदवारी परेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले हिजो औपचारिकरुपमै आ आफ्नो प्यानल घोषणा गरिसक्नु भएको छ । जसअनुसार नेपाल समूहले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डे उम्मेदवार बनाएको छ ।  यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल तथा सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, परशुराम मेघी गुरुङ र वेदुराम भूषाललाई अघि सारिएको छ । यसैगरी ओली समुहले उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ शाहलाई उठाएको छ । महासचिवमा ईश्वर पोखरेलको उम्मेदवारी दर्ता गरिएको छ । उपमहासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेल तथा सचिवमा प्रदिप ज्ञवाली, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङ र रघुवीर महासेठको उम्मेदवारी दर्ता भएको छ । यसैबीच हिजो विधानमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने पारित भए पनि जम्मा १३ प्रतिशत महिलालाई मात्रै उम्मेदवार बनाइएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: